बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
बाग्लुङ | भदौ १९, २०८१
बागलुङ (ढोरपाटन): बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।
दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।
यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताउनुभयो ।
“भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।
मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उहाँको भनाइ छ ।
पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताउनुभयो । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उहाँले जानकारी दिनुभयो ।
पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताउनुभयो । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो ।
आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताउनुभयो ।
“हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ ।
अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।”
निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताउनुभयो । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उहाँको भनाइ छ ।
मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताउनुभयो ।
तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उहाँले जानकारी दिनुभयो ।
किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताउनुभयो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

