त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
तनहुँ | असोज १९, २०८१
तनहुँ: गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।
त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।
बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो ।
पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”
दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताउनुभयो । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसैबीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गर्नुभएको छ ।
झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।”
बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयि...
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

