दसैँमा आज पोखरामा नि:शुल्क बस सञ्चालन

कास्की | असोज २६, २०८१

दसैँमा आज पोखरामा नि:शुल्क बस सञ्चालन Photo Sudarshan Ranjeet

कास्की:   विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । 


विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

    
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिनुभयो । ती बसहरु आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् । 

    
पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।  

    
यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् । 


निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

    
उहाँले भन्नुभयो, “दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।” दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो । 

    
यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताउनुभयो । “जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्