पर्वतमा असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित
पर्वत | कात्तिक ६, २०८१
पर्वत: जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।
कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।
जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो ।
कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो ।
एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उहाँको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।
महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताउनुभयो । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उहाँको गुनासो छ ।
पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताउनुभयो ।
किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताउनुभयो ।
यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उहाँको भनाइ छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

