राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण
दाङ | कात्तिक ११, २०८१
दाङ: दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार सोही सडक वीरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दायाँबायाँ तर्फका बासिन्दा मारमा परिरहेका छन् ।
अहिले सडकको दायाँबायाँ १५ मिटर छाडेको भए पनि त्यसमा सडक पनि नबनेको र खाल्डाखुल्डीले मानवीय क्षति पुगिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने पत्रमा उल्लेख छ ।
अहिले फेरि २५ मिटर सडक र ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने कुरा उठिरहेको भन्दै यसले झनै अन्यौल थपेको लामिछानेको भनाइ छ ।
यसमा अन्यौल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रीमा समस्या हुने गरेको, बैंक ऋणसमेत पाउन नसेकेको, घरको नक्सा पाससमेत रोकिएको अवस्था रहेको उहाँको भनाइ छ ।
सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटरभित्रका खाल्डा पुर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सो पत्रमा तुलसीपुर उपमहानगरपालिका–५ र ६ का सातवटा टोल विकास संस्थाका दुई सय ९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । यदि सडक विस्तार गर्नुपर्ने अवस्था आएमा नक्सा पास गरेर बनेका घरलाई मुआब्जा दिनुपर्ने समेत सङ्घर्ष समितिको भनाइ थियो ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले देशभरका राष्ट्रिय राजमार्गमा २५ मिटर सडकका लागि ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड रहेको बताउनुभयो ।
उहाँले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले राप्ती लोकमार्ग सङ्घीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकाले आफूहरुले समन्वयको भूमिका खेल्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडको स्तरोन्नति हुँदा विद्युत्का संरचना हटाउने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

