जङ्गली हात्तीले धान र केराखेती नष्ट

रौतहट | कात्तिक २१, २०८१

जङ्गली हात्तीले धान र केराखेती नष्ट

रौतहटः    जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।


जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् ।


हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् ।


गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो । 


करिब ५ बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।


हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उहाँले बताउनुभयो । 


केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो ।


बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिनुभयो । 


चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनाँै हात्ती केरा बारीमा प्रवेश गरी क्षति पु¥याएको स्थानीय गोपाल फुँयालले जानकारी दिनुभयो । 


सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उहाँले बताउनुभयो । 


त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् । 


साँझ पर्ने वित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् । 


स्थानीय  सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । 


उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् । 
     

गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । 


गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । 


घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो ।


जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए ।


धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । 


हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पु¥याउँदै आएका छन् । गतवर्ष मात्रै  हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । 


हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् ।


हात्तीले क्षति पु¥याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।


डिभिजन वन कार्यालयमा हात्तीले क्षति पु¥याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् ।


हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । 


हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो ।


कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण सङ्कलन भइरहेको साहले जानकारी दिनुभयो । 


हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उहाँले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्