बेसहाराका लागि ‘सहारा घर’
कैलाली | कात्तिक २३, २०८१
कैलाली: कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ । विसं २०७२ मा उहाँले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको ‘सहारा घर’ आज सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो ।
परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा पाएका सयौँ बेसहाराहरू सहारा घरको सयोगमा सामान्य जीवन निर्वाह गर्न सफल भएका सहारा घरका संस्थापक संरक्षक बलबहादुर विष्टले बताउनुभयो ।
“परिवार र समाजले नचिनेका सबै क्षेत्रबाट अपहेलनामा परेकालाई सहारा दिने उद्देश्यले यो घर स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “विसं २०७२ देखि हालसम्म सडकबाट उठाएर ल्याइएका चार सय पाँच जनाको उपचारपछि निको भएर पारिवारिक मिलन गराएका छौँ ।”
सहाराका लागि ल्याइएका ३८ जनाले यही घरमा देह त्याग गरेका भन्दै विष्टले देह त्याग गरेकाको सम्झनामा ‘सहारा शान्ति वाटिका’ निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि सहारा घरमा ५८ जना सडक बेसहाराले सहारा लिइरहेका छन् ।
“यहाँ रहनुभएका सबैले मानसिक सन्तुलन गुमाउनु भएको छैन । शारीरिक, मानसिक तथा अन्य कारणले परिवार र समाजबाट अपहेलित भएर सडकमा आएकाहरू यहाँ पुगेपछि अनुशासनलाई पालना गरेर बस्नुभएको छ । यहाँ आउने अधिकांश बाध्यताले सडकमा पुग्ने अवस्था छ”, संस्थापक विष्टले भन्नुभयो ।
घरलाई बर्दगोरिया गाउँपालिकाका साथै कैलालीका अन्य पालिकाले पनि सहयोग गर्दै आएका विष्टले बताउनुभयो । विभिन्न सङ्घसंस्थाले आवास निर्माणमा सहयोग गरिरहेका छन् । “घरमा एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशले पनि सहारा घरलाई सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
सहारा खोजिरहेका मानिसको जिम्मा राज्यले लिनुपर्ने संस्थापक विष्टको जोड छ । उहाँले कुनै व्यक्ति वा संस्थाले सुरुवात गरेर राज्यले गर्ने काममा साथ दिएको भन्दै त्यसको स्वामित्व राज्यले लिनुपर्ने र मानिसको आधारभूत अधिकार प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । “राज्यले मानवमुक्त सडक बनाउने नीति लिएको छ, अब बेसहारालाई सहारा दिने काम पन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सहारा घरमा रहेका बेसहाराको लागि नागरिकस्तरबाट राम्रो सहयोग प्राप्त हुने गरेको संस्थापक विष्टले बताउनुभयो । उहाँका अनुसार कैलालीको टीकापुरस्थित गुडिमुन्टे समूहले देउसीभैलोबाट सङ्कलन भएको रकमबाट एक दिनको भोजन गराएको छ ।
समूहले देउसीभैलोबाट सङ्कलन भएको चामलसहित रु सात हजार पाँच सय हस्तान्तरण गरिएको देउसीभैलोका संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो ।
“बर्सेनि देउसीभैलोबाट सङ्कलन भएको रकमको २० प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छौँ । यसवर्ष पनि सोहीअनुसार सहयोग गरेका हौँ”, “उहाँले भन्नुभयो, “देउसीभैलोमा सङ्कलन भएको केही रकम समाजिक कार्यमा सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुन्छ ।”
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

