घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
नवलपरासी | कात्तिक २५, २०८१
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।
देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताउनुभयो । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उहाँले बताउनुभयो ।
“घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो”, उहाँले भन्नुभयो, “बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।”
घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताउनुभयो । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उहाँको भनाइ छ ।
पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो ।
स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताउनुभयो ।
“पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताउनुभयो ।
परियोजनाले देवचुली–५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

