नेपाली माछाले बजार पाएन
चितवन | मंसिर ३, २०८१
चितवन: भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज तामाङ्का अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन् । उहाँले भन्नुभयो, “अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ ।”
बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन् । भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताउनुभयो ।
काठमाडौँको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौँ भित्रिने गरेको उहाँले बताउनुभयो ।
यहाँको माछाको बजार काठमाडौँ, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको सङ्घका सदस्य नीरञ्जन थापाले बताउनुभयो ।
थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौँ, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको उहाँले बताउनुभयो ।
मङ्सिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उहाँले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गर्नुभयो । अहिले किसानकोमा जलकपुर र पाङ्गास माछा तयारी अवस्थामा रहेका छन् ।
जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ । पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गङ्गा भण्डारीका अनुसार जिल्लामा हाल १ हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ ।
त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ ।”
भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

