पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पाेखरा | मंसिर ९, २०८१

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा:    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । 


आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले १ वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । 


३ वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि २ पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी १ वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताउनुभयो ।


“तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको  छ”, उहाँले भन्नुभयो ।


४ लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिनुभयो ।


वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ ।


निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताउनुभयो । 


पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । 


३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ ।


पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । 


चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । 


कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 


उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो ।


आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा ४ लेन र ५ किमीमा २ लेन सडक कालोपत्र भइसकेको बताउनुभयो । 


एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान ४ लेनको सडक हुनेछ । 
–––

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्