बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न
बाग्लुङ | मंसिर २०, २०८१
बागलुङ: ‘१ निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।
विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रको चरणमा पुगेको हो । समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ ।
भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो ३ महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।
उहाँले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गर्नुभयो । प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य ४ किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।
“सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो”, उहाँले भन्नुभयो, “अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्र गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्र सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।”
चैतसम्म छ किमी सकड कालोपत्र सक्ने तयारीका साथ निर्माणले अन्तिम रुप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताउनुभयो । उहाँले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गर्नुभयो ।
सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्र गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिनुभयो ।
सडक निर्माण सुरु भएको ५ महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताउनुभयो । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

