डढेलो र आगलागीको जोखिम: तयारी थाल्न विज्ञको सुझाव
काठमाडाैं | मंसिर २१, २०८१
काठमाडौं: पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।
वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।
एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्को जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो ।
अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् ।
विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ ।
विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरू गर्नुपर्नेमा उहाँहरूको सुझाव छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो । तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ ।
उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ ।
शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ । यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उहाँले जोड दिनुभयो ।
डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जङ्गलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो ।
भुलेलले भन्नुभयो, “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ ।”
नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ ।
केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो । उहाँले यही मङ्सिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।
जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् ।
डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमाण्ड पोष्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरूरी रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । जङ्गलका प्रज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।
विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन । प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताउनुहुन्छ ।
त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उहाँले बताउनुभयो । डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरूरी रहको उहाँले बताउनुहुन्छ ।
उहाँका अनुसार प्राधिकरणले भर्खरैमात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ । उक्त बहसले महत्त्वपूर्ण सुभाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्र्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको बताउनुभयो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

