घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी
पाेखरा | मंसिर २१, २०८१
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् ।
मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् ।
मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो ।
मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म काम सक्ने जवाफ दिए ।
बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
यो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो ।
सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने हो । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन भएपछि काम हुन सकेन ।
लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो । तर, दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन ।
निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताए ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको बताए ।
त्यसैले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई आग्रह गरे । गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन उनको आग्रह थियो ।
पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताए । साथै मन्त्री केसीले करापुटार–डडुवा–साल्मेभञ्ज्याङ–मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड)को पनि अनुगमन गरे ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

