पोखराको पहिलो जित, गौसको कीर्तिमानी शतक
काठमाडाैं | मंसिर २१, २०८१
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ ।
तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए ।
पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।
पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए ।
लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो ।
शनिवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

