आँधीखोला तर्न फट्केको भर
स्याङ्जा | पुस ३, २०८१
स्याङ्जा: स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।
हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह«ाथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उहाँले जानकारी दिनुभयो ।
“जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गथ्र्यो”, उहाँले भन्नुभयो, “खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।” स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उहाँले बताउनुभयो ।
बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेस्र्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।
खोलाको फैलावटका आधारमा भकारी बनाइने उहाँले बताउनुभयो । “खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ”, उहाँले भन्नुभयो, “कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०–२२ पनि बुन्नुपर्छ ।”
पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपथ्र्यो । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ ।
विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ ।
खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् । फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उहाँले बताउनुभयो ।
पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताउनुभयो । डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उहाँले बताउनुभयो ।
पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उहाँको गुनासो छ ।
“हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ”, उहाँले भन्नुभयो, “विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।” एकपटक फट्के बनाएपछि झण्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

