म्याग्दीको दोसल्ले गाउँबाट  रु १ करोड ५० लाख बढीको सुन्तला  बिक्री

म्याग्दी | पुस ४, २०८१

म्याग्दीको दोसल्ले गाउँबाट  रु १ करोड ५० लाख बढीको सुन्तला  बिक्री

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गर्नुभएको छ । 


तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो । 


दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । 


समूहका अध्यक्षसमेत रहनुभएका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिनुभयो । 


“यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भन्नुभयो । 


दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ । 


बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष रु एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष रु एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । 


“सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन”, उहाँले भन्नुभयो । 

 

उहाँका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले रु सात लाख ५० हजार, जीतबहादुर आलेले रु सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसक्नुभएको छ ।

 

जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । 

 

बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान  रहनुभएका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताउनुभयो । 

 

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुने थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

 

जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्