इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पाल्पा | पुस ८, २०८१
पाल्पा: इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ ।
कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो । तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ ।”
राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ । कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ ।
तर हाल १ कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन् ।
रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ ।
कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ ।
रामपुर–४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताउनुभयो । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिनुभएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
“सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्, अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उहाँले भन्नुभयो ।
यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।
नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयो ।
रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो ।
आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ ।
कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

