कास्की कारागारका २ सय ६० कैदीबन्दीको स्वास्थ्य जाँच
३ लाखको औषधी वितरण
पाेखरा | पुस १८, २०८१
पोखरा: कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो ।
गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो ।
शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।
शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् ।
‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो,’ डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए । कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’
चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए ।
युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् ।
‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं,’ अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’
युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए ।
कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

