पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्: विभिन्न पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
काठमाडाैं | पुस २५, २०८१
काठमाडौं: पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ ।
परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले कक्षा ९ र १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँहरूले वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधता संरक्षण, हिमाल पग्लने, चुरे विनास र जलवायु परिवर्तनले नेपालमा पारेका असरलाई विद्यार्थीले बुझ्ने र त्यसको समाधानमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयसमेत पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभएको थियो ।
यस्तै, उक्त बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागिसमेत सिफारिस गरेको छ ।
बैठकले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गर्दै माध्यमिक तह (कक्षा ९–१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषामध्ये नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाउने निर्णय गरेको छ । तीन समूहमध्ये कुनै दुई समूहबाट एक–एकवटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।
उक्त बैठकले उच्च माध्यमिक तह (कक्षा ११–१२) मा ऐच्छिक तेस्रो समूहमा रहेका १४ भाषामध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार कक्षा ११–१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको ‘जेरोन्टोलोजी’ र ‘केयर ट्रेकिङ’ शिक्षा विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचवटा समूहमध्ये कुनै तीन ऐच्छिक विषय रोज्न पाउने छन् ।
विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्य पनि समावेश गरिने भएको छ । बैठकले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आधारभूत तह (कक्षा ६–८) तथा माध्यमिक तह (कक्षा ९–१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषद्मा पेस गर्न केन्द्रलाई सैद्धान्तिक सहमतिसमेत दिएको छ ।
उक्त बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

