मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
म्याग्दी | माघ १, २०८१
म्याग्दी: यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।
अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताउनुभयो ।
“माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उहाँले भन्नुभयो, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।”
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताउनुभयो । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् ।
यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् ।
जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे ।
बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।”
समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उहाँले बताउनुभयो ।
हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सुरु भएको हो ।
परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

