गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
तनहुँ | माघ ७, २०८१
                                
                            तनहुँ: गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । 
    
मन्त्रालयले आइतबार दमौलीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सुझाव सङ्कलन गरेको छ । सरकारले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरेको छ । सोही विधेयकमा टेकेर प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन गरिएको मन्त्री थापाले बताउनुभयो । 
    
गण्डकी प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, संवर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गर्न खोजिएको मन्त्री थापाको भनाइ छ । 
    
भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताउनुभयो । 
    
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा गण्डकी प्रदेश सरकारले गत साउन २२ गतेको निर्णयबमोजिम उक्त विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्राप्त भई मस्यौदा निर्माण प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । आगामी हिउँदे अधिवेशनबाट संसद्मा टेबुल गर्ने सरकारको योजना छ । 
    
गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८ दशमलव ८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ । 
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
