तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
चितवन | माघ २२, २०८१
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उनका अनुसार सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो ।
शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो ।
निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदै छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

