सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वत | फागुन १, २०८१
तस्बिर फाइल
पर्वत: खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन् ।
पौडेलद्वयले गत माघ २९ गते वनमा आगो लगाएका थिए । वनमा आगो लगाउँदा वनजङ्गल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएकामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुनः प्रहरी हिरासतमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताउनुभयो ।
पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगालागी भएको थियो । यस वर्ष गत माघदेखि आगालागीका घटना बढ्न थालेका डिभिजन वन कार्यालयले जनाएको छ ।
हिउँद याममा हुने अधिकांश आगलागीमा मानवीय लापरबाहीका कारण हुने गरेको पाइएपछि यसपटक दोषीलाई खोजी गरेर कारबाही गर्न थालिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले बताउनुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

