फरार अभियुक्तलाई पक्राउ गर्न माग
बारा | फागुन ५, २०८१
बारा: दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाईको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गर्नुभयो ।
“दोषी नउम्कियोस र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ”, श्यामप्रसाद धानुकले भन्नुभयो ।
घटनासँग जोेडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्नुभयो । पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
“मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ”, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भन्नुभयो, “मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।”
मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताउनुभयो ।
कुटपिट गरिरहेको सिसीटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ ।
पक्राउपर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् । पुनःस्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।
यसैबीच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

