हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री खड्का

काठमाडाैं | चैत ४, २०८१

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री खड्का

काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 


जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ गर्दै मन्त्री खड्काले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताउनुभयो । 


“हिमताल फुट्दाको जोखिमबाट उत्पन्न हुने अवस्था भयावह छ, यो फुटेपछि मानवीय क्षतिसँगै आयोजनाको समेत ठूलो क्षति हुने भएकाले यसलाई समयमै जोगाउनतफृ लाग्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो । 


उहाँले जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगिकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 


“हिमाल उत्पत्ति भएसँगै हिमताल बनेका छन्, प्राकृतिक हिमतालको संरक्षण गर्नु आजको आवश्यकता हो, हिमतालको संरक्षणका लागि आगामी वर्ष बजेटको व्यवस्था गछौँ,” उहाँले भन्नुभयो । 


मन्त्री खड्काले जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीको घट्दो अवस्था तथा जल र मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै सरकारले नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । पानीको अधिकतम उपयोग र संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । 


“नेपालमा हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न हुने नदी तथा हिमनदीले हाम्रो ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेका छन्, यी जलस्रोत हाम्रो संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड हुन्, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हाम्रा हिमनदी खुम्चिँदै गएका छन्, यसले जलस्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षासम्बन्धी गम्भीर चुनौती उत्पन्न गरेको छ,” मन्त्री खड्काले भन्नुभयो । जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।


सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने उल्लेख गर्नुभयो । 


मन्त्री खड्काले स्वच्छ पानीको प्रवद्र्धन, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण तथा जलस्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सरकारले अघि बढाइरहेको स्पष्ट पार्नुभयो । सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।


मन्त्री खड्काले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशसँग मिलेर काम गर्नसक्ने थुप्रै अवसर रहेको बताउनुभयो । उहाँले जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थासँग सहकार्य गरी नेपालका जलस्रोतको दिगो व्यवस्थापन तथा विकासलाई सुनिश्चित गर्न लाग्ने उल्लेख गर्नुभयो । 


जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले एक हप्तासम्म चल्ने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहले पानी, जलवायु, मौसमलगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । 


उहाँले जल तथा मौसमसम्बन्धी अनुसन्धान, नीतिगत सुधार, प्रविधि हस्तान्तरण, तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


‘हिमनदी संरक्षण, सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ मनाउन लागिएको उक्त सप्ताहमा नेपालका हिमनदी र जल तथा मौसमको बारेमा जनचेतना फैलाइने आयोगका सहसचिव जगदीश्वर कर्माचार्यले जानकारी दिनुभयो । उक्त सप्ताह यही चैत १० गतेसम्म चल्नेछ ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्