दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै
तनहुँ | चैत १४, २०८१
तनहुँ: मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो ।
लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौँडा-हर्कपुर खण्डको १० दशमलव १८ किलोमिटर कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो ।
विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटकपटक म्याद थप गरिएको छ । यो सडकको म्याद आगामी असारसम्म रहेको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रु २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।
शुक्लागण्डकी नगरपालिकाको पहलमा निर्माण कम्पनीका प्रतिनिधि श्याम लामासहितको टोली अहिले सडक स्तरोन्नतिका लागि कार्यक्षेत्रमा खटिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । तत्कालका लागि पाँच किमी कालोपत्र गर्न दबाब दिएपछि निर्माण कम्पनी अहिले कार्यक्षेत्रमा खटिएर काम अघि बढाएको उहाँले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएकामा कामले गति नलिँदा निराश भएका छन् ।
दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रको पुरानो सडक समयमा सम्पन्न नहुँदा स्थानीय र यात्रुले सास्ती पाएका बताउनुभयो । उहाँले यथाशीघ्र सडक स्तरोन्नति गरी यात्रा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

