चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा
म्याग्दी | चैत २१, २०८१

म्याग्दी: रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ ।
परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।
मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ ।
त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए ।
यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।
गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताए ।
“पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देशविदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने ।
भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ ।
छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् ।
प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।
भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ ।
भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए ।
यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ ।
भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...