जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार
पाेखरा | जेठ ३, २०८२

पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय छ ।’ उहाँले भन्नुभयो – ‘पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेका छन् । नेपाली मिडियाले समकालीन परिप्रेक्ष्यमा असल अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्र निर्माण प्रक्रियामा अभियन्ताको रूपमा उभ्याउँदै लैजानुपर्छ ।’
प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै उहाँले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
‘आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको छ । नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उहाँले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुयो ।
‘पहिले साधनस्रोत, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे । औपचारिक शिक्षाको कमि भएतापनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो । हिजो पेशागत मान प्रतिष्ठा र इज्जत थियो । तर आजभोलि डिजिटल प्रविधि, साधनस्रोतको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ ।’ उहाँले थप्नुभयो
समाज नै ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेशन’ ले पीडित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक समाजका लागि नकारात्मकता र कुप्रचार चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले थप्नुभयो – ‘मिडियाभित्रको ‘सेन्सरशीप’ संयन्त्र मजबुत हुनुपर्दछ । र, त्यो भन्दा बढी सेल्फ सेन्सरशीपमा ख्याल गर्नुपर्दछ । यहाँको पत्रकारितालाई मैले नियालिरहेको पनि छु ।’
गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण नै पत्रकारहरु सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण पनि उहाँले गर्नुभयो ।
प्रदेश प्रमुख भट्टले पुरस्कृत पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई बधाई पनि ज्ञापन गर्नुभयो । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानि माधव शर्मा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले बोल्नुभएको थियो ।
काठमाडौंः प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ । पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको ...
काठमाडौंः नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि ने...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पु...