सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा
म्याग्दी | साउन २२, २०७९
म्याग्दी : सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल् ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर ।
म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक देखिन्छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटको शिरानमा रहेको गौश्वार गाउँमा मल्लकालीन वास्तुकलाका एक सय वर्षभन्दा बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । २०४५ सालसम्म मल्ल वंशीय ठकुरीहरुको बाहुल्य बसोबास रहेको यस गाउँ विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि यहाँका ठकुरीहरु बसाइँसराइ गर्ने र सहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् ।
घरहरु जीर्ण अवस्थामा पुगेका भए पनि मर्मत सम्हार र सुरक्षाको विषयमा कसैले चासो नदेखाएको स्थानीयले बताएका छन् । ती घरहरुको पुरानै शैलीमा मर्मत गरी प्रचारप्रसार गर्ने हो भने बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा आउने धेरै पर्यटकहरु यहाँ पुग्न सक्ने सम्भावना देखिएको स्थानीयवासी समेत रहनुभएका बेनी – २ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।
उहाँका अनुसार सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घरहरु गौश्वारा गाउँका अनमोल सम्पदा भएकाले पनि तिनको सुरक्षा र मर्मतसम्हारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले जानकारी दिनुभयो ।
मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ । यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।
त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका मल्लले बताउनुभयो ।
त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरबम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिनुभयो । “कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरा लगायतका सहरहरुमा गइसके तर म भने पुर्खाको विरासतलाई संरक्षण गरेर बसेको छु”, उहाँले भन्नुभयो, “घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको पसिनाको गन्ध र तत्कालीन काष्ठ कलाको आनन्द मिसिएको छ ।”
ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन् । ऐतिहासिक महत्व र राणाकालीन विरासतले युक्त घरहरुको मर्मत र संरक्षण आवश्यक देखिएको छ । यस्ता पुरानो कला र सामग्रीहरुले निर्माण गरिएका घरहरु जिल्लामा अत्यन्त थोरै रहेका र यी घरहरुले भावी पुस्तालाई आफ्ना पूर्वजहरुको वास्तविकता र तत्कालीन समयको कला, संस्कृति र आवासीय पद्धतिलाई पनि बुझाउन सहयोग पुग्ने कला संस्कृतिका अभियन्ता प्रकाश श्रेष्ठले बताउनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

