पाखोबारीमा झाडी फाँडेर तरकारी खेती
म्याग्दी | असार ३०, २०८२

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् ।
झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।
विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यवसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन् ।
बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् ।
करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक पाँच हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका छन् ।
विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् ।
गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रधानाध्यापक शेरबहादुर केसीले बताए ।
छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनको भनाइ छ । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक लाख ५० हजार सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष तीन लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनको भनाइ छ ।
पोखरा: यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पू...
काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...
काठमाडौं: सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...