‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ | साउन ७, २०८२

‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ:   वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । 


तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्। 


सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । 


“मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ । 


काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै  आएका थिए । 


कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ । 


रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए । 


“मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।”


म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए । 


“सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।”


हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए । 


“हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।” 


काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्