पाइन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

बर्दिया | कात्तिक २०, २०८२

पाइन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

बर्दिया:   मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् ।


बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्नुहुन्छ, “पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।” आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उहाँको अनुमान छ । सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हुँदै गएको हुनसक्ने उहाँ बताउनुहुन्छ ।


पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् ।


 बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । “तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ ।”


अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थाननै मासिन थालेका हुन् । घोंगी, गङ्गटा,  सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिक रुपमै यसको सिकार गर्न थालेका छन् । 


यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउनुहुन्छ । 


माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले जस्तो खेती प्रणाली छैन । धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।” 


उहाँले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताउनुभयो । पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उहाँको भनाइ छ । सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन् ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

थप पढ्नुहोस्

काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

थप पढ्नुहोस्