महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग
तनहुँ | साउन २९, २०७९
तस्बिर फाइल
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।
सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ । सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।
सेनेटरी प्याडका अभावमा समस्या हुँदै आएको थाहा पाएपछि सञ्जालका सदस्यबाट रकम सङ्कलन गरी प्याड सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “विभिन्न अपराधमा सजाय भोगेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले मानवअधिकारको आधारभूत आवश्यकता पाउनुपर्छ, सेनेटरी प्याड नभएको विभिन्न माध्यमबाट जानकारीमा आएपछि सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।
सञ्जालले महिला मानवअधिकार संरक्षणका लागि काम गर्दै आएको छ । त्यस्तै महिलाका अधिकार सुनिश्चित गराउनका लागि सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आएको सचिव तिमिल्सिनाले जानकारी दिनुभयो । कारागारमा हाल १२ जना महिला कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । गत फागुनदेखि तनहुँमा महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दी राख्न थालिएको छ ।
“भर्खरै मात्र महिला कैदीबन्दी गृह सञ्चालनमा आएकाले हाम्रो पनि यसतर्फ ध्यान जान सकिरहेको थिएन”, उहाँले भन्नुभयो, “सेनेटरी प्याडका विषयमा विभिन्न माध्यमबाट प्रचार–प्रसारमा आएपछि अन्य सङ्घसंस्थाले पनि यसमा चासो देखाउनुभएको छ ।”
महिला बन्दीगृहको क्षमता २० रहेको थियो । तनहुँमा महिला बन्दीगृह निर्माण भएपछि कास्की पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुराना कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

