प्रतिनिससभा निर्वाचन: प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
पाेखरा | माघ ६, २०८२
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् ।
तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् ।
दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।
उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उनले बताए । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए ।
जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

