राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

पाेखरा | भदौ ३, २०७९

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

 

पोखरा । पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गर्नुभएको हो । 

 

भवनको उद्घघाटन पछी बोल्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । 

 

उनले भने,‘आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मअनुशासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।’

 

नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीहरूको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहन समेत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

 

पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा उक्त विद्यालय अग्रणी रहेको बताउनुभयो । विद्यालय संचालनमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय तथा पहल गर्ने उहाँले बताउनुभयो ।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका मार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताहरूको सहयोग समेत गरी भवन निर्माणमा रु४१ लाख ६५ हजार बढी खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्यालयमा आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले बताउनुभयो ।

 

कक्षा ६ देखी १० सम्म पढाई हुने उक्त विद्यालयमा २५ जना विद्यार्थीहरूले आवासीय सुविधा सहित अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले बताउनुभयो । विद्यालयमा महानगरको सहयोगमा ५ जना शिक्षकहरू कार्यरत रहेका छन् भने हालसम्म कुनै पनि दरबन्दीको व्यवस्था छैन । दरबन्दी नहुँदा शिक्षकहरूले न्यूनतम पारिश्रमिकमा पढाउनु पर्ने भएका कारण स्थायी रूपमा शिक्षकहरूलाई रोक्न नसकिएको गुनासो रेग्मीको छ । उहाँका अनुसार विद्यालयको मासिक खर्च रु३ लाखको हाराहारीमा छ । 

 

२०७० सालमा स्थापित उक्त विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषयहरूमा पढाई हुने गरेको छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थीहरू पास आउट भैसकेका छन् ।

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्