चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न
जनकपुरधाम | भदौ १४, २०७९
मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ ।
भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो । यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ ।
दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ ।
चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।
तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ ।
यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा ९पिरुकिया० र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

