बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

काठमाडाैं | भदौ १६, २०७९

बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

 

धनकुटा ।  प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखापरेपछि उहाँले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ ।

 

बहत्तर वर्षिय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिनुभयो । “उच्च रक्तचापले बिरामी भएर हात कमजोर भयो, परिवारले पनि काम नगर्नु भनेपछि छाडिदिएँ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा उहाँ झण्डै २५ वर्षसम्म क्रियाशील हुनुहुन्थ्यो ।  विसं २०३० देखि १८ वर्ष सरकारी सेवा गरेर २०५२ सालमा निवृत्त भएपछि उहाँ यस क्षेत्रमा संलग्न हुनु भएको हो । 

 

कुनै प्रशिक्षण नलिएका जोशीले सानैबाट मूर्तिकलामा रुची भएकाले जागिर छाडेपछि यसलाई आफ्नो निर्वाहको माध्यम बनाउनु भएको थियो । कलाकारितामा लागेपछि नाम र दाम मिलेको बताउँदै उहाँले भन्नुभयो, “यसले मलाई पाँच जनाको परिवारको जीवनयापनका लागि सहज भएको थियो । अब यो काम छाडेपछि भने आर्थिक समस्याले पिरोलेको छ ।” 

 

उहाँले निर्माण गरेका पत्थरका मूर्ति विभिन्न मन्दिर र सार्वजनिक स्थलमा स्थापना गरिएका छन् । प्रारम्भमा एक मूर्तिको एक हजार आठ सय रुपैंयामा काम गरेका जोशीले पछिल्लो समय एक लाखसम्म लिने गरेको बताउनुभयो । उहाँका अनुसार एक फुट पत्थरको मूर्ति बनाउन १५ दिनदेखि एक महिना लाग्ने गर्दछ । उहाँले आफूले निर्माण गरेका मूर्तिहरु जिल्ला बाहेक काठमाडौँ , रोल्पा, तेह्रथुम, सुनसरीका लागि ७० भन्दा स्थानमा स्थापना गरिएको जानकारी दिनुभयो । 

 

काठमाडौँ  त्रिभुवन विश्वविद्यालयका लागि लक्ष्मीप्रसाद देवकोटाको शालिक, धनकुटा छिन्ताङ्ग हत्या काण्डका १६ शहिद मध्ये १० वटा शालिक, धनकुटाका शहिद भीमनारायण श्रेष्ठको शालिक, धनकुटाका प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको शालिक जोशीका मुख्य कृति हुन् ।

 

आफ्नो एकल प्रयासमा चार वर्ष लगाएर धनकुटा नगरपालिका–६ को लहरे चौतारा भन्ने स्थानमा  निःशुल्क रुपमा विशाल पत्थरमा कुँदेर गणेश र महाकालीको मूर्तिसँगै मन्दिर र पार्क बनाउनुभएपछि जोशी देशभरि चर्चामा आउनुभएको थियो । विसं २०५९ देखि २०६३ मा निर्मित यस श्री शक्ति विनायक मन्दिर तथा पार्कमा ती मूर्ति बाहेक सिमेन्टबाट बनेको सिड्नी साई बाबा, भीमसेन, गजराजलगायत विभिन्न मूर्तिहरु यहाँको मुख्य आकर्षण रहेको छ ।

 

यस क्षेत्रमा नाम र दाम भए पनि नयाँ पुस्तामा जागरण र धैर्यता नभएकाले प्रस्तर कलालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नसकिएको उहाँको गुनासो छ । “अहिलेका पुस्ताहरु कम्प्युटरमा बटम थिचेर तुरुन्त बन्ने वस्तु खोज्छन् तर पत्थरमा मूर्ति बनाउने त्यस्तो सोच र धैर्यताले सम्भव छैन”, जोशीले भन्नुभयो । नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), साविक जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिकालगायत देशका विभिन्न सङ्घ/संस्थाबाट उहाँ सम्मानित तथा पुरस्कृत हुनुहुन्छ ।

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...

थप पढ्नुहोस्