आयल निगम अझै मासिक ६१ करोड घाटामा

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

काठमाडाैं | भदौ १७, २०७९

आयल निगम अझै मासिक ६१ करोड घाटामा

काठमाडौँ :  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।


 
मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।


 
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र  हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।


 
मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।


 
आइओसीलाई २१ अर्ब तिर्न बाँकी

 

पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।


 
आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।

काठमाडौं:  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ।  पशुपति क्षेत्र...

थप पढ्नुहोस्

पोखरा:  लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् ।  आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराज...

थप पढ्नुहोस्

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । ...

थप पढ्नुहोस्