घरेलु तथा साना उद्योगका प्रविधि विकास गर्न अनुदान

काठमाडाैं | भदौ १७, २०७९

घरेलु तथा साना उद्योगका प्रविधि विकास गर्न अनुदान

 

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यकपर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि सहयोग आदानप्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालय मातहतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । 

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूको उपस्थितिमा आज १२ बुँदे समझदारी भएको हो । समझदारीपत्रमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक विष्णु भुसाल र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो । 

    

समझदारीअनुसार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका क्षेत्रमा सहयोग आदानप्रदान गर्नेछन् । समझदारीअनुसार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न चालु आवमा आविष्कार केन्द्रलाई रु ४० लाख अनुदान उपलब्ध गराउनेछ । 

  

 आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमितरुपमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रलाई जानकारी गराउनेछ । राष्ट्रिय आविष्कार केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दुवै पक्षले आवश्यक समन्वय र सहयोग गर्ने सहमति भएको छ । 

  

 आविष्कार केन्द्रबाट विकास हुने प्रविधिको प्रचारप्रसार र उपयोगका सम्बन्धमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनी जस्ता प्रवद्र्धनात्मक कार्यक्रम संयुक्तरुपमा गरिनेछ । नेपालमा स्थापित लघु, घरेलु तथा साना उद्योगलाई केन्द्रबाट विकास हुने प्रविधि प्रयोग गर्न संयुक्तरुपमा प्रयास गरिनेछ । लघु, घरेलु तथा साना उद्योगलाई आवश्यकपर्ने यस्ता प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ । 

  

 नेपालमा परम्परागतरूपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिने, आविष्कार केन्द्रले प्रविधि विकासका क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउनसक्ने समझदारीपत्रमा उल्लेख छ । दुई पक्षबीच भएको सो समझदारी २०८० साल असार मसान्तसम्म कायम रहनेछ । 

    

सो अवसरमा उद्योगमन्त्री बडूले लघु तथा घरेलु उद्योगका सीप तथा प्रविधिको साटासाट गरेर सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो । उहाँले आफ्नो स्वदेशी उत्पादनको बढोत्तरी र उपभोगमा अभिवृद्धि गर्ने सरकारको लक्ष्य रहेको जनाउँदै स्थानीय उत्पादन वृद्धिले रोजगारी सिर्जना हुने र ग्रामीण अर्थतन्त्र रुपान्तरण हुने बताउनुभयो । सातै प्रदेशमा ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिँदै उहाँले यसले उद्यमीको सङ्ख्या बढ्ने र रोजगारी सिर्जना हुने बताउनुभयो । 

    

आविष्कार केन्द्रका अध्यक्ष पुनले घरेलु उद्योगलाई आवश्यक प्रविधि विकास गर्न समझदारीले सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी वैशाखभित्रमा लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका काम सम्पन्न गरिने बताउनुभयो । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्