२८ वर्षपछि सिँचाइ आयोजना सम्पन्न
पर्वत | भदौ १८, २०७९

पर्वत । पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो ।
विसं २०५१ मा निर्माण सुरु भएको सो आयोजनाको नहर हालै सम्पन्न भएको हो । उक्त नहर बर्सेनि सरकारको थोर–थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो । उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायका अनुसार सिँचाइ कुलो बनेपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन् । झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
“नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो”, उहाँले भन्नुभयो, “नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको छ । आव २०७६÷७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित रु एक करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो । उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । “गत आर्थिक वर्षमा दुई हजार चार सय मिटर नहर पुनःनिर्माणले पूर्णता पाएको थियो”, उहाँले भन्नुभयो, “भुसुनेको मुहानबाट सल्यानसम्म मुख्य नहर पक्की बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौँ”, उहाँले भन्नुभयो ।
यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको शर्माको भनाइ छ । अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए । लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो ।
धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ । सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो । सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणि रिजालले बताउनुभयो । सिँचाइ सुविधापछि विदेशबाट फर्किएका कृषकले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने फर्से धाइरिङमा मावि तहको पठनपाठन सञ्चालन गर्नमा पनि सल्यान सिँचाइ आयोजनाको हात रहेको प्रअ मुकुन्द आचार्यले बताउनुभयो ।
आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...