मुस्ताङको स्याउ असोजको पहिलो सातामै बजार झर्ने
मुस्ताङ | भदौ २२, २०७९
मुस्ताङ : स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो ।
स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा किनेर लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
स्याउ पाकेसँगै टिप्ने र बजारसम्म पु¥याउन अबका केही दिन कृषकलाई भ्याइनभ्याइ हुन्छ । गत वर्षभन्दा यस वर्ष पाँच दिन अगाडिबाटै स्याउ टिप्न अनुमति पाएपछि यहाँका कृषक पनि उत्साहित बनेका छन् ।
अघिल्लो वर्ष असोजको १ गतेदेखि स्याउ टिप्न र बिक्री गर्न अनुमति दिइएको थियो । राम्रोसँग पाकेको स्याउका लागि असोज नै लाग्नुपर्ने तर्क पनि रहँदै आएको छ ।
स्याउ समयमै बजारसम्म नपुग्दा विगतमा घाटा बेहोर्नुपरेको अवस्थामा अहिले भने कृषक तथा व्यापारी दुवैलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।
यस वर्ष स्याउको गुणस्तर र बजार व्यवस्थापन लोभलाग्दो रहने शीतोष्ण बागवाणी विकास केन्द्रका निमित्त केन्द्र प्रमुख विनयबाबु कोइरालाले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको स्याउले बजार पाउन थालेदेखि यहाँको कृषकको दैनिकीमा सकारात्मक प्रभाव परेको छ । “हामी मुस्ताङको स्याउ गुणस्तरीय होस् भन्ने चाहन्छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष सरोकारवाला निकायभन्दा पाँच दिन ढिला गरेर केन्द्रको स्याउ टेन्डर आह्वान गरेका छौँ ।”
विगतका केही वर्षमा तोकिएको समयभन्दा अगाडि नै स्याउलाई बजारसम्म पुर्याउने परम्पराले मुस्ताङको स्याउप्रति नै नकारात्मक प्रभाव परिरहेको थियो । स्याउमा गुणस्तर नपाउनु र बजारमा मुस्ताङको स्याउ भनेपछि फरक तरिकाले हेर्ने अवस्थाभन्दा अहिले धेरै भिन्नता हुने कोइरालाको जिकिर छ । हाल केन्द्रमा उत्पादन हुने स्याउ धेरै पुरानो भए पनि नयाँ प्रविधिका स्याउ विस्तारै विकास भइरहेको कोइरालाले बताउनुभयो । अब भने बर्सेनि मुस्ताङको स्याउ उचित समयमा बजारसम्म पुग्ने र गुणस्तरमा पनि कुनै कमी नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी दसैँ नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकको चाप दिनहुँ बढ्ने र मुस्ताङमा पर्यटकीय केन्द्र निर्माणमा सरोकारावाला निकाय जानकार हुनुपर्ने टड्कारो अवस्था देखिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका सफल युवा कृषक निरज तुलाचन दसैँ तिहार जस्तो प्रमुख याममा स्याउको बिक्री वितरणमा व्यापारीहरूले कुनै पनि कसर बाँकी नराखी सकारात्मक भूमिका निभाएमा यहाँको स्याउलार्ई देशैभरि प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ ।
स्याउ खेती लगाउन र यसको व्यवस्थापन गर्न अगाडि आउन चाहने कृषकलाई निःशुल्क परामर्शसहित सोही स्थानलाई व्यवस्थित पर्यटकीय हब निर्माणमा सहयोग गर्ने अर्का व्यवसायी निरज तुलाचनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको बगैँचामा एकछिन रमाउने वातावारण तयार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । मुस्ताङभित्रका सुन्दर स्याउ बगैँचालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलाचनको भनाइ छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

