लोकमार्गबाट झरेको बाढीले बगर भयो खेत

बाग्लुङ | भदौ २६, २०७९

लोकमार्गबाट झरेको बाढीले बगर भयो खेत

 

बागलुङ । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । 

 

गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति पुर्याएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ ।

 

मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । 

 

उक्त बाढीले सडक र खेतीमा व्यापक क्षति पुगेको हो । दर्जनौँ स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ । नरेठाँटीस्थित धैँसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले दुई सय रोपनी जमिन बगर बनाएको हो । गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत गर्न नसकिने गरी खेत सबै बगर बनाएको किसानले गुनासो गरे । 

 

काठेखोला गाउँपालिका–५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिँदा सडकका विभिन्न स्थानमा ठूलठूला पहिरो पनि खसेका छन् । 

 

नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाँक्रीस्थान, काफलढुटा र रगेनीलगायतका स्थानमा घुम्ती नै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत वर्ष नै रु ५० करोड बढी रकम विनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढिला गरिँदा सडक छियाँछियाँ भएको हो । 


    
समयमा धान रोप्न नपाए पनि जसोतसो रोपेको धानखेती सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गर्नुभयो । “खेत बगाएको मात्र छैन, बगर बनेको छ”, उहाँले भन्नुभयो, “वर्षातभर दुःख गरेर रोपियो अहिले सबै नष्ट भयो ।” जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । 

 

सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको र पैदलयात्रासमेत कठिन रहेको स्थानीय विष्णु विश्वकर्मले बताउनुभयो । वर्षात्कै कारण मध्यपहाडी लोकमार्गको बागलुङदेखि हटियासम्मको ४५ किमी सडक छियाछिया भएको छ । वर्षात्कै कारण कालोपत्र तयारी भएको दुई सय ५० मिटर सडक बग्दा गत वर्षको झण्डै रु दुई करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो । 

 

केही समयअघिको वर्षात्ले भत्केको तोरी खोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडकसमेत अझै बन्न सकेको छैन । ती सडकमा सवारी चल्न नसक्दा स्थानीय दैनिक उपभोग्य सामान बोकेरै लैजान बाध्य छन् । बाढीपीडितको राहतका लागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्