बागलुङमा बढ्दो डेङ्गु सङ्क्रमण, परीक्षणका लागि किट अभाव
बाग्लुङ | असोज ४, २०७९
तस्बिर फाइल
गलकोट : बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।
जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।
जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
“सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।”
स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
“अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।
डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ ।
डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

