धानमा पहेंले रोग लागे पछि किसान चिन्तित
भरतपुर | असोज ६, २०७९

भरतपुर । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुग्नुभएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उहाँले सुनाउनुभयो, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?”
समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।” उहाँ र आसपासका खेतमा करिब पाँच बिघा क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो, “समस्या समाधान हुनु पर्यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”
किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।
धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उहाँले बताउनुभयो ।
सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...