तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार
काठमाडाैं | कात्तिक ८, २०७९
काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
“यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ ।
फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ ।
नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो । “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो ।
यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य रु ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । “उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने रु पाँच जति बढेको छ ।” अध्यक्ष तामाङले भन्नुभयो ।
तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् । “हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

