हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

डोल्पा | कात्तिक ८, २०७९

हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

 

डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो । 


उहाँको घरमा आठ जनाको परिवार छ । वर्षमा एक पटक मात्र पाक्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ सम्मा लिनुपर्ने गुरुङको बाध्यता हो । सदरमुकाम सम्मा मात्र सडक सञ्जाल जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरीको सहारा नै हुन् । उहाँजस्तै डोल्पोबुद्ध–१ का फुर्बा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ । हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उहाँलाई बाँच्नका लागि सङ्र्घषजस्तै भएको छ ।

 
आर्थिकरुपमा बलियो भएका यहाँका स्थानीयवासी उपल्लो डोल्पाबाट अन्यत्र अस्थायीरुपमा बसाई सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण हिउँमै प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थाकथलोमा बस्दै आएको लामाले जानकारी दिनुभयो । मङ्सिर ४ गते हुने चुनावको अन्य ठाउँमा भारी चिन्ता भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयभित्र बाटो बन्द गर्ला भन्ने चिन्ता बढी रहेको लामाको भनाइ छ । 


उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने गरेको शे फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन । अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ । भोट पनि कसरी खसाउने हो, समयमै हिउँ बढी परेमा मतदान केन्द्र सम्मा जानसमेत मुस्किल होला ।” उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन । लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि व्यापार कम्पनीले ढुवानी गर्न नसकिएको खाद्य व्यस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्मा उपल्लो डोल्पामा हिउँले ढोकेको हुन्छ । हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्य हुने गरेको छ । 

 
जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उहाँले जानकारी दिनुभयो । जुफालमा दुई सय क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न सङ्कट पर्नसक्ने प्रमुख घिमिरेले जानकारी दिनुभयो । जाजरकोट– डोल्पा सडकखण्डको डोल्पाखण्डको सडक अझै सञ्चालन नभएका कारण खाद्यान्न ढुवानीमा समस्य हुँदै आएको घिमिरेको भनाइ छ । उपल्लो डोल्पामा एकमात्र बिक्री केन्द्र रहेको छ । 


त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयवासीले बताएका छन् । नयाँ ठेक्का सदर भए पनि अहिले सम्मा चामल ढुवानी हुन सकेको छैन । सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो । 


तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि सो कार्य पाँच वर्षदेखि रोकिएका कारण तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो । तीन पालिकामा लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो । तल्लो डोल्पाका पाँच ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ । यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताउनुभयो । 

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानका...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्