निर्वाचनका लागि नमूना मतदान सुरु

बाँके | कात्तिक १६, २०७९

निर्वाचनका लागि नमूना मतदान सुरु

 

 बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । 


जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिनुभयो । स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ । 


जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतिरकण र तीन घण्टा नमूना मतदान अभ्यास हुने छ । “मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो”, प्रमुख पन्तले भन्नुभयो । 


उहाँले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिनुहुदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन् । नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताउनुभयो । 


मतदाता शिक्षा पनि लागू हुँदै 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा मतदाता शिक्षा पनि लागू गर्ने तयारी भएको छ । कात्तिक १८ गतेबाट गाउँदेखि सहरसम्म १५ दिने मतदाता शिक्षा सञ्चालनमा ल्याइने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । 


त्यसका लागि वडा वडामा एसएलसी सरहको स्वास्थ्य स्वयंसेविका नियुक्त गरेर घरदैलोमा मतदाता शिक्षा प्रदान गर्ने तयारी भएको जिल्ला निर्वाचन प्रमुख पन्तले जानकारी दिनुभयो । 


“यसको मुख्य उद्देश्य भनेको स्थानीय निर्वाचनमा बढेको बदर मतको सङ्ख्या यस पटकको निर्वाचनमा घटाउने हो”, उहाँले भन्नुभयो । 
उहाँले नयाँ नियुक्त भएका स्वास्थ्य स्वयंसेविका हातहातमा ब्रोसर र मतपत्र बोकेर प्रत्येक घर घर पुग्ने बताउनुभयो । मतदाता शिक्षाका लागि आठ जना अनुगमन अधिकृतसहित बाँकेका सबै पालिकाका ८१ वडाबाट स्वास्थ्य स्वयंसेविका ८१ गरी ८९ जना कर्मचारी परिचालन हुने छन । 


मतदातालाई खास गरी मतपत्र पटाउने, मताधिकारको प्रयोग, कस्तो मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने भन्ने लगायतका विषयमा सिकाइने छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्