बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी
मनाङ | कात्तिक २५, २०७९
तस्बिर फाइल
मनाङः हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् ।
तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् ।
मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्”, उहाँले भन्नुभयो ।
कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । तर निर्वाचनले जिल्लावासीलाई यहाँ आउन बाध्य बनाएको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताउनुभयो । “प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मङ्सिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ”, उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा (एमाले) का पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि नै प्रदेश ‘ख’ मा राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ । निर्वाचनमा जित हासिल गर्नका लागि घरदैलोमा पुगेर उम्मेदवार मतदातालाई रिझाउन व्यस्त छन् ।
मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी छ हजार सात सय ७९ मतदाता छन् । नासोँ गाउँपालिकामा एक हजार आठ सय ४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा तीन हजार छ सय ८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् । जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

