मकै र कोदो फल्ने बारीमा किवी खेती
म्याग्दी | मंसिर २, २०७९
म्याग्दीः म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ ।
पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा बोटबाट किवी खेती सुरु गर्नुभएको थियो ।
“वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।”
पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाउनु भएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा रु दुई लाख बराबरको छ सय किलो किवी फलेको बताउनुभयो ।
अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ ।
आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । “हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्”, पुनले भन्नुभयो, “२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।”
छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताउनुभयो ।
“पोखराका व्यापारीसँग प्रतिकिलो रु दुई सय ५० का दरले किवी बेच्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।” पुनको बगैँचाका एक सय ३५ किवीका बोट फलेका छन् ।
गत वर्ष २५ वटा नयाँ बिरुवा लगाउनु भएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाउनुभएको छ । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गर्नुभएको छ ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई आठ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उहाँले बताउनुभयो ।
धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ ।
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ ।
प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।(
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

