मेरो विजय भनेकै लोकतन्त्रको विजय हो: नेता सिंह
काठमाडाैं | मंसिर ६, २०७९
काठमाडौँ: काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले सात हजार एक सय ४३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई एक सय २५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बन्नुभएको छ ।
निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उहाँले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताउनुभयो । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरुको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भन्नुभयो । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्च्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उहाँको भनाइ छ ।
उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।
उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।”
निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताउनुभयो । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभयो ।
विसं २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उहाँ सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको थियो । २०१२ सालमा जन्मनुभएका उहाँ २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभयो भने २०३६ सालमा अध्यक्ष बन्नुभयो । २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहनुभयो भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बन्नुभयो । २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभयो ।
उहाँले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गर्नुभयो । २०६४ सालमा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उहाँले काठमाडौँ–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आउनुभएको छ । उहाँ सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नुहुने उहाँ विकासप्रेमी नेताका रुपमा चिनिनु हुन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

